शुक्रबार, १६ गते वैशाखज्येष्ठ २०८०
फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

प्रमुख कार्यकारी अधिकृतको सन्देश

प्रमुख कार्यकारी अधिकृतको सन्देश

आदरणीय सरोकारवाला महानुभावहरु,
वि.सं. २०८० असोज ४ गतेदेखि निक्षेप तथा कर्जा सुरक्षण कोष (“कोष”) ले गौरवशाली ४९ वर्ष पूरा गरी ५० औँ प्रवेश गरेको छ । यस अवधिमा कोषले आफ्ना विभिन्न सुरक्षण कार्यक्रमहरु मार्फत बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाको सुरक्षण गरी नेपाली बैंकिङ्ग तथा वित्तीय प्रणालीको एउटा अभिन्न सारथीको रुपमा आफूलाई स्थापित गरेको छ ।

पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा संकुचन, कमसल कर्जामा वृद्धि, कर्जाको ब्याजरमा वृद्धि, वित्तीय संस्था विरोधी विरोध प्रदर्शन जस्ता सुरक्षण व्यवसाय प्रतिकूल घटनाक्रमहरु विकसित भएसँगै कोषको कर्जा सुरक्षण व्यवसायको विस्तारमा पनि नकारात्मक असर देखापर्न थालेको छ । यद्यपि, आ.व. २०७९।८० मा कोषको समग्र वित्तीय अवस्थामा भने उत्साहजनक प्रगति हासिल भएको छ । यस अवधिमा कोषले रु. २ खर्ब ७७ अर्ब बराबरको कर्जा र रु. १२ खर्ब ८९ अर्ब बराबरको निक्षेपको सुरक्षण गरी रु.४ अर्ब सुरक्षण शुल्क आर्जन गर्न सफल भएको छ । कोषले आर्जन गरेको उक्त सुरक्षण शुल्क विगत वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो । उक्त सुरक्षण शुल्कका अतिरिक्त लगानी परिचालनबाट रु. २ अर्ब ६ करोड आम्दानी भएको छ । लगानीबाट हासिल उक्त आय विगत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो । यस अवधिमा सुरक्षण शुल्क, लगानी र अन्य आय गरी कूल ६ अर्ब ८ करोड आर्जन भएको छ । प्रतिकूल परिवेशका बाबजुद विगत वर्षको तुलनामा आ.व. २०७९।८० मा कोषको मुनाफामा उल्लेख्य वृद्धि भई मुनाफा र नेपाल सरकारलाई तिरेको आयकर योगदानका हिसाबले कोषले उत्कृष्ट पाँचौ स्थान हासिल गरेको छ । यस सफलताले कोष परिवारलाई हर्षित र थप जिम्मेवार बनाएको छ ।  

बैंक तथा वित्तीय संस्थाहरुको पूँजी पर्याप्तता अनुपातमा चाप, कर्जा लगानीयोग्य कोषमा कमी, व्यवसायिक गतिविधीमा सुस्तता, कर्जाको ब्याजदर र व्यापार व्यवसायबाट हुने आम्दानीको दरमा बेमेल, बजारमा कर्जाको मागमा कमी जस्ता प्रतिकूल आर्थिक परिवेशका कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जा विस्तारमा संकुचनको क्रम हालसम्म कायमै रहेको छ । यस अवस्थामा सुधार नआएसम्म कोषको कर्जा सुरक्षण कार्यक्रमले तीव्रता नपाउने भएकाले आगामी दिनमा कोषको सुरक्षण व्यवसाय विस्तार थप चुनौतीपूर्ण देखिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपातमा देखिएको वृद्धिले कोषको दाबी भुक्तानी खर्च पनि उल्लेख्य रुपमा बढ्ने संकेत गर्दछ । यस अवस्थामा सुधार नआए आगामी दिनमा कोषको मुनाफा वृद्धिदरलाई कायम राख्ने विषय अत्यन्तै चुनौतिपूर्ण हुने देखिन्छ । त्यसमा पनि ५ वर्ष अघि प्रवाहित सहूलियतपूर्ण कर्जाहरुको भाखा आगामी आ.व. भित्र पूरा हुने भएकाले सो कर्जासँग सम्बन्धित दाबीले कोषको मुनाफामा थप चाप पर्ने अवस्था छ । 

सम्भावित जोखिमहरुको कुशल व्यवस्थापन गर्दै उपलब्ध व्यवसायिक अवसरको उच्चतम उपयोगबाट नै निर्धारित लक्ष्य हासिल गर्नमा सघाउ पुग्ने भएकाले कोषले सोही बमोजिम आफ्ना योजना तथा प्राथमिकताहरु निर्धारण गर्नुपर्ने खाँचो रहेको छ । आगामी दिनमा उपलब्ध हुनसक्ने व्यवसायिक अवसर र चुनौती दुवै पक्षलाई दृष्टिगत गरी कोषले आगामी पाँच वर्षको लागि दुरगामी रणनीतिक योजना तर्जुमा गरिरहेको छ । कोषको लक्ष्य प्राप्तिका लागि भावी दिनमा अवलम्बन गरिनुपर्ने प्राथमिकता, कार्यविधिगत एवं संरचनागत परिवर्तन र व्यवसायिक एवं गैरव्यवसायिक क्रियाकलापहरुलाई उक्त दस्तावेजले मार्गनिर्देश गर्ने विश्वास लिएको छु  ।

कोषले अन्तर्राष्ट्रिय असल अभ्यास, सदस्य संस्थाहरुको सुरक्षण आवश्यकता र कोष स्वयंको व्यवसायिक क्षमतालाई ध्यानमा राखी नवीनतम सुरक्षण कार्यक्रमहरुको तर्जुमा र मौजुदा कार्यक्रमहरुको परिमार्जन एवं पुनर्तर्जुमाका लागि आवश्यक तयारी गरिरहेको छ । कोषको आन्तरिक कार्यप्रणालीमा सुधारका लागि सूचना प्रविधिको उच्चतम प्रयोग, कर्मचारीहरुको क्षमता अभिवृद्धि, विवेकशील जोखिम व्यवस्थापन प्रणालीको अनुशरण,  उच्च तहको संस्थागत सुशासन, अनुपालनामा शून्य सहिष्णुता संस्कृति, पद्धति र कार्यसम्पादन प्रेरित कार्य वातावरण, सुरक्षण कार्यक्रमहरुको पवद्र्धन  एवं बजारीकरण जस्ता पक्षहरुमा आगामी दिनहरुमा थप जोड दिइनेछ ।

अन्त्यमा, कोषलाई सेवा गर्ने अवसर प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, कुशल मार्गदर्शन प्रदान गर्नु हुने कोष सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरु, कोषलाई आजको अवस्थासम्म ल्याउन अहोरात्र परिश्रम गर्नुहुने कर्तव्यनिष्ट कर्मचारीजन, नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु ।  साथै, आगामी दिनमा सम्वद्ध सबै पक्षबाट कोषलाई प्राप्त हुने साथ, सहयोग र मार्गदर्शनले नेपाली अर्थतन्त्रको एक सबल एवं विश्वसनीय संस्थाको रुपमा स्थापित कोषको संस्थागत पहिचानले थप उचाई हासिल गर्ने कुरामा विश्वास प्रकट गर्दछु ।

रमेश घिमिरे
प्रमुख कार्यकारी अधिकृत
निक्षेप तथा कर्जा सुरक्षण कोष